
क्वालालम्पुर, मलेसिया – नेपाल मगर संघ मलेसियाको नवौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। महासचिव तिपेन्द्र बुढा मगरका अनुसार अधिवेशन उत्साहपूर्ण सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको हो। कार्यक्रम मगर भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित रहेको महासचिव तिपिन्द्र बुढाले बताएका छन्।
अधिवेशनमा सभाअध्यक्षका रूपमा संघकी अध्यक्ष पुष्मिता ठाडा मगर रहनुभएको थियो। प्रमुख अतिथिका रूपमा संघका केन्द्रीय समितिका अध्यक्ष ज्ञानेन्द्र पुन मगर उपस्थित हुनु भएको थियो। मलेसियास्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत मुदिता बज्राचार्य विशिष्ट अतिथिका रूपमा सहभागी रहनुभएको थियो।
त्यसैगरी विशेष अतिथिद्वयमा नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष पदमराज लिम्बू र गैर आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष इन्द्र नारायण लिम्बू उपस्थित रहनुभएको थियो। कार्यक्रममा कलाकार रेश्मा पुनमगर र नितु पुनमगर सहित स्थानीय कलाकारको बेजोड सांगीतिक प्रस्तुति रहेको थियो। विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अधिवेशनबाट नवौं कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नव–निर्वाचित अध्यक्ष बिरस पुन मगरले मगर समुदायको भाषा, कला, परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।





